29/01/2022

आज शहिद दिवस !

navadmin

देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहिदको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी शहिद दिवस मनाइँदैछ। प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने शहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा शहिद दिवस मनाउने गरिन्छ। विसं २०१२ देखि काठमाडौँ महानगरपालिकाको संयोजनमा प्रत्येक वर्ष माघ १६ गते शहिद दिवस मनाउन थालिएको हो।

शहिद शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकुस्थित पचलीमा मृत्युदण्ड दिइएको थियो।शहिद धर्मभक्त माथेमालाई सिफलमा विसं १९९७ कै माघ १३ गते र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मारिएको थियो।

राणाशासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट एवम् शिक्षित गरेको आरोपमा विसं १९९७ मा उहाँहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो। माघ १६ गते शहिद दिवसका दिन विभिन्न कार्यक्रमको आयोजना गरी मुलुक र जनताका लागि भएका अधिकारका आन्दोलनमा आफूलाई समर्पित गर्ने सम्पूर्ण शहिदको सम्झना गरिन्छ।