29/04/2023

नेपाली नयाँ बर्ष २०८०को अवसरमा न्याभद्वारा आयोजित विशेष कार्यक्रम

navadmin

नेपलीज एसोसिएसन अफ भिक्टोरियाले विशेष कार्यक्रमको आयोजना गरी नेपाली नयाँ वर्ष २०८०लाई भव्य रुपमा स्वागत गरेको छ। भिक्टोरियाको नर्थकोटमा विशिष्ट अतिथिहरू, समुदायका नेताहरू, सामुदायिक अग्रजहरू, युवा तथा बालबालिकाहरूको अत्यधिक उपस्थितिमा नेपाली नयाँ वर्ष २०८० को स्वागत उत्सव मनाइएको हो ।

उक्त कार्यक्रमका विशिष्ट अतिथि प्रेस्टन र रिजर्भोयरका सांसद नाथन ल्याम्बर्ट, भिक्टोरियन बहुसांस्कृतिक कमिशनका आयुक्त भिभ गुयेन, सांसद इभान मुलहोल्याण्ड, छायाँ क्याबिनेट सचिव तथा नर्दन मेट्रोपोलिटन क्षेत्रका सदस्य बारिस दुजोभा र न्याभका अध्यक्ष प्रेमराज उप्रेतीले संयुक्त रूपमा पानसमा वत्ती बालेर नेपाली वर्षलाई स्वागत गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।

विभिन्न समुदायका अगुवाहरु, न्याभका पूर्वअध्यक्ष तथा सल्लाहकारहरुको विशेष उपस्थिती रहेको कार्यक्रमको संयोजन उपाध्यक्ष ललिशा थापाले गर्नुभएको थियो भने संचालन सहसचिव आलोक पौडेलले गर्नुभएको थियो ।

कार्यक्रममा परम्परागत पोशाकमा बालबालिकाहरुको रोमाञ्चक र मंत्रमुग्ध नृत्य प्रस्तुतिले सबैलाई रोमाञ्चित बनाएको थियो । त्यस्तै कलाकारद्वय नवराज कलौनी र पुष्प बोहराले आफ्नो प्रस्तुति दिनुभएको थियो भने विभिन्न सांस्कृतिक, मनोरञ्जनात्मक प्रस्तुतीहरुले दर्शकलाई उत्साहित बनाएको थियो ।

सोही दिन नेपाली समुदायका ज्येष्ठ सदस्यहरूलाई कानुनी प्रणाली, ट्राफिक र अन्य अपराधका सम्बन्धमा सुरक्षाका उपायहरू तथा जीवनका अन्य पक्षहरूबारे जानकारी गराउन सडक सुरक्षा अभिमुखीकरण कार्यशालाको आयोजना गरिएको थियो। भिक्टोरिया प्रहरी, भूपराज पंगेनीले सबै सहभागीहरुलाई अभिमुखीकरण तालिम दिनुभएको थियो ।

न्याभ अष्ट्रेलियाको नेपाली समुदायलाई यहाँको समुदायसँग जोडनको निम्ती गरिरहेको नियमित प्रयासमा सरकारको निरन्तर सहयोग र विश्वासको लागि आभार व्यक्त गर्दछ।