23/12/2023

१९ औं न्याभ कप प्रतियोगिता १४ जनवरीबाट, १७ क्रिकेट क्लबहरुको प्रतिस्पर्धा

navadmin

नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)ले आयोजना गर्दै आएको न्याभ क्रिकेट कप प्रतियोगिताको १९ औं संस्करण १४ जनवरीबाट शुरू हुनेभएको छ। यसपटकको न्याभ कपमा १७ क्रिकेट क्लबहरुले उपाधिको लागि प्रतिस्पर्धा गर्ने भएका छन्, प्रतिस्पर्धी टिमको यो संख्या इतिहासकै सबैभन्दा ठूलो हो। यसपटकको न्याभ क्रिकेट कपलाई म्याक्सिम्याक्स एजुकेशनले मूख्य प्रायोजन गरेको छ।

प्रतिस्पर्धी टिमहरुमा फारवेस्ट हन्टर्स क्रिकेट क्लब, रोयल राइनोज क्रिकेट क्लब, एक्सपर्ट सगरमाथा ब्लुज, हिमालयन क्लब, ट्राइकन क्रिकेट क्लब, ग्रेस गोर्खाली क्रिकेट क्लब, ब्राइटन एभरेष्ट युनाइटेड क्रिकेट क्लब, युनाइटेड वारियर्स क्रिकेट क्लब, काठमाडौं क्यापिटल्स क्रिकेट क्लब, ड्यान्फे स्ट्राइकर्स क्रिकेट क्लब, राइजिङ सन स्पोर्ट्स क्लब, चितवन क्रिकेट क्लब, चितवन राइनोज क्रिकेट क्लब, नारे किंग्स, गुल्मी टाइगर्स क्रिकेट क्लब, एभरेष्ट लायन र माभेन क्रिकेट क्लब रहेका छन्।

प्रतिस्पर्धी टिमहरुलाई ४ समूहमा विभाजन गरिनेछ । प्रतियोगिता हरेक आइतवार डोनेथ रिर्जब रिजर्भोयरमा सञ्चालन हुनेछ । फाइनल खेल १० मार्चमा हुनेछ । उपाधि विजेताहरुलाई न्याभ कप ट्रफी मेडलसहित नगद पुरस्कारहरु प्रदान गरिनेछ ।

१९औं न्याभ कप प्रबर्द्धनका लागि नेपाल क्रिकेट संघ (क्यान) तथा नेपाल स्थित अष्ट्रेलियाली राजदूतावास, एनआरएनए भिक्टोरिया अष्ट्रेलिया, भिक्टोरियन नेपाली क्रिकेट संघ, नेपाल कम्युनिटी एसोसिएसन अफ अष्ट्रेलियाको महासंघ तथा अन्य नेपाली संघसंस्थाको सहयोग रहेको छ।

न्याभ कपका सन्दर्भमा यसअघि नोभेम्बरमा न्याभले नेपालका लागि अष्ट्रेलियन राजदूतावासको रोहबरमा नेपाली क्रिकेट संघ क्यानसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । उक्त समझदारीमा न्याभ कपमा नेपाली खेलाडीहरुलाई सम्मान गर्ने, नेपाली क्रिकेट संघ र भिक्टोरियाको नेपाली क्रिकेटलाई जोड्ने तया क्यानको निम्ती अर्थ संकलन गर्ने सहमति भएको थियो ।