फारवेस्टले जित्यो यो वर्षको न्याभ कप उपाधि

यो वर्षको न्याभ कप उपाधि फारवेस्ट हनटर्सले जितेको छ। मार्च ९ तारिखमा सम्पन्न २० औं न्याभ कपको फाइनल खेलमा फारवेस्टले एक्सपर्ट सगरमाथा ब्लुजलाई ८ विकेटले हराउंदै उपाधि जित्न सफल भएको हो। फारवेस्टले १ सय ८२ रनको लक्ष्य १३ बल अगाडि पूरा गरेको थियो ।
नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)ले हरेक वर्ष आयोजना गर्दै आएको न्याभकप गत जनवरी १२ तारिखदेखि सुरु भएको थियो। यसपटक न्याभकपको उपाधिका लागि अठार टीमले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिता डोनेथ रिजर्भ रिजभोयर खेल मैदानमा टुर्नामेण्ट अवधिभर हरेक सप्ताहान्तमा आयोजना गरिएको थियो। जसमार्फत एक्सपर्ट सगरमाथा ब्लुज, ट्राइकन क्रिकेट टिम र फारवेस्ट हनटर्स र चितवन क्रिकेट क्लब सेमिफानलसम्म पुग्न सफल भएका थिए। सेमिफाइनलमा एक्सपर्टले ट्राइकन क्रिकेट टिम र फारवेस्टले चितवन क्रिकेट क्लबलाई पराजित गरेका थिए ।
२०औं न्याभ कपको संयोजन संस्थाका सचिव उज्ज्वल अधिकारीले गर्नुभएको थियो। टुर्नामेण्ट व्यवस्थित रुपमा भव्यताका साथ सफल भएको जानकारी गराउंदै उहाँले यस सफलताको श्रेय टुर्नामेन्ट व्यवस्थापनमा सहकार्य गरेको संस्था भिक्टोरियन नेपलीज क्रिकेट एसोसिएसन, सम्पूर्ण प्रायोजक संस्थाहरु, सहभागी टिम तथा खेलाडी, टुर्नामेन्टको लागि विभिन्न पदमा रही कार्य गर्नुभएका व्यक्तित्वहरु, सम्पूर्ण संघसंस्थाका प्रतिनिधिहरु लगायत समग्र नेपाली समुदायलाई जाने बताउनुभयो।
त्यसैगरी न्याभ अध्यक्ष एकिन्द्र तिमल्सिनाले यसपटकको न्याभ कपले अझ नयाँपन र समुदायमा नयाँ आशा दिएर छोडेको बताउनुभयो। उहाँले आयोजकका तर्फबाट खटेर टुर्नामेन्ट सफल बनाउन लागिपरेको टिम तथा विभिन्न तरिकाबाट जोडिनुभएका सम्पूर्ण व्यक्तित्व तथा संघसंस्थाप्रति आभार व्यक्त गर्नुभयो।