भिक्टोरिया सरकारद्वारा न्याभप्रति आभार व्यक्त
भिक्टोरिया सरकारले न्याभप्रति आभार व्यक्त गरेको छ। कोभिड-१९ विरुद्धको खोप अभियानमा न्याभले गरेको कार्यको प्रशंसा गर्दै राज्य सरकारले धन्यवाद तथा आभार व्यक्त गरेको हो।
भिक्टोरियाका डिप्युटि प्रिमियर तथा शिक्षा मन्त्री, मानसिक स्वास्थ्य मन्त्री, अपाङ्गता, एजिंग तथा केयरर मन्त्री माननीय जेम्स मर्लिनो र स्वास्थ्य मन्त्री, एम्बुलेन्स मन्त्री तथा समानता मन्त्री माननीय मार्टिन फोलेले न्याभका लागि एक पत्र पठाउनुभएको छ। उक्त पत्रमा न्याभका अध्यक्षलाई सम्बोधन गर्दै भनिएको छ, “भिक्टोरिया सरकारले संचालन गरेको स्कुल पप-अप कोभिड-१९ खोप केन्द्र संचालन अभियानमा न्याभले पुर्याएको योगदानप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छौं । कोभिड-१९ रोकथामका लागि खोप अभियानमा लाग्ने बहुसांस्कृतिक समुदाय, सामुदायिक संस्थाप्रति हामी कृतज्ञ छौं, जसले आफ्नो समुदायका व्यक्तिहरुलाई खोप लगाउनका प्रेरित गरे। ”
पत्रमा यस खोप अभियानले खोप लगाउन ढिला गरेका या खोप लगाउन नपाएका बहुसांस्कृतिक समुदायका व्यक्तिसम्म खोप पुर्याउन सहयोग गरेको बताइएको छ। त्यसैगरी पत्रमा खोप अभियानमा न्याभ लगायत संस्थाहरुले सहयोग गरेका कारण कैयौं भिक्टोरियावासीको ज्यान बच्न सफल भएको उल्लेख गर्दै धन्यवाद व्यक्त गरिएको छ। भिक्टोरियामा उक्त खोप अभियान सेप्टेम्बरदेखि नोभेम्बर १४ सम्म चलेको थियो। जसमा ३५ हजार व्यक्तिले खोप लगाएका छन्।
उक्त अवधिमा न्याभले कोभिड-१९ खोप सम्बन्धि दर्जनभन्दा बढी सचेतना कार्यक्रम संचालन गरेको थियो भने विभिन्न संस्थाहरुसंगको सहकार्यमा अनलाइन मार्फत सचेतना कार्यक्रमहरु पनि गरेको थियो। त्यसैगरी डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसेज तथा डीपीभी हेल्थसंगको सहकार्यमा भ्याक्सिनेसन हब कार्यक्रम समेत संचालन गरेको थियो।
न्याभले गरेको सचेतना तथा खोप सम्बन्धि कार्यक्रममा हातेमालो गर्ने संस्था, व्यक्तित्व, स्वयंसेवी लगायत सम्पूर्णलाई न्याभ हार्दिक धन्यवाद दिन चाहन्छ। न्याभ यो विश्वास गर्दछ कि, सबैको साथले नै संस्थाका कार्यक्रमहरु प्रभावकारी बन्छन् र समुदायका लागि संचालित यी कामले गर्दा समुदाय पनि बलियो बन्छ।