ट्राइकन क्रिकेट क्लबले जित्यो १९औं न्याभ कपको उपाधि
ट्राइकन क्रिकेट क्लबले भिक्टोरियाको मेलबर्नमा नेपाली समुदायका टोलीबीच आयोजना गरेको म्याक्सी म्याक्स न्याभ कपको उपाधि जितेको छ । न्याभले आयोजना गरेको प्रतियोगिताको फाइनलमा ट्राईकलने एक्सपर्ट सगरमाथा ब्लुज क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्यो ।
मेलबर्नस्थित जेसी डोनेथ रिर्जभमा भएको फाइनलमा ट्राइकनले १ सय ५५ रनको लक्ष्य १५.५ ओभरमा पूरा गर्यो । उपाधिसँगै ट्राइकनले ५ हजार अस्ट्रेलियन डलर, ट्रफी तथा उपविजेता सगरमाथाले १ हजार ५ सय डलर, ट्रफी र मेडल हात पार्यो । सुनिल धमला, किशोर महतो, सागर खड्कासहितका नेपाली राष्ट्रिय टोलीका खेलाडीहरूले खेलेको प्रतियोगितामा १७ टोली सहभागि थिए ।
प्रतियोगिताको प्लेयर अफ द सिरिज ब्राइटन क्रिकेट क्लबका सागर खड्का बनेका थिए भने ट्राइकनका सन्जोग दाहाल फाइनल खेलमा प्लेयर अफ द म्याच घोषित भएका थिए । सागर उत्कृष्ट ब्याटर पनि बने । उत्कृष्ट बलर शेखर अर्याल र उत्कृष्ट फिल्डर रविन्द्र गुरुङ बनेका थिए ।
न्याभका अध्यक्ष प्रेमराज उप्रेतीले न्याभले खेलकुदको माध्यमबाट नेपाली समुदायबिचमा भाइचारा स्थापना गर्नुका साथै प्रतिभा भएका नयाँ खेलाडीलाई यहाँको मुलधारमा अवसर सृजना गर्नका लागि प्रोत्साहन गरिरहेको बताए । उनले यसबर्षको न्याभ कप सफल भएको बताउँदै यस्ता प्रतियोगिताले नेपाली खेलाडीलाई खेलप्रति अझ उत्साह मिल्ने बताए । प्रतियोगितालाई म्याक्सिम्याक्स एजुकेसन एण्ड माइग्रेसनले मुख्य प्रायोजन गरेको थियो भने होम्स इन्टिच्युटले सहप्रायोजन गरेको थियो ।