अध्यक्ष प्रेम राज उप्रेतीलाई स्कलिन सामुदायिक स्वयंसेवक पुरस्कार
नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) का अध्यक्ष प्रेम राज उप्रेती प्रतिष्ठित स्कलिन सामुदायिक स्वयंसेवक अवार्डद्वारा सम्मानित हुनुभएको छ। गालाडा सामुदायिक केन्द्रमा आयोजित एक समारोहका वीच अष्ट्रेलियाका आप्रवासन, नागरिकता, र बहुसांस्कृतिक मामिलाका मन्त्री एन्ड्र्यू गाइल्सले उप्रेतीलाई उक्त अवार्डसहित सम्मान गर्नुभएको हो।
अवार्ड प्रदान गर्दै मन्त्री गाइल्सले उप्रेतीले आफ्नो सामाजिक, पारिवारिक चुनौतिको बाबजुद २०१८ देखि समुदायको निम्ती कटिबद्ध रहेर काम गरेको भन्दै प्रशंसा गर्नुभयो । न्याभमा सदस्य देखि उपाध्यक्ष हुँदै अध्यक्षको रुपमा उप्रेतीले दिएको योगदानले यहाँको नेपाली समुदायमा भाषा, संस्कृतिको विकासमा काम गर्दै लोकप्रिय रहेको बताउनुभयो । उप्रेतीलाई उक्त अवार्डको निम्ती इन्द्र अधिकारीले मनोनित गर्नुभएको थियो ।
यस सन्दर्भमा अध्यक्ष उप्रेती भन्नुहुन्छ ”यस अवार्डले मलाई आफ्नो यात्रामा अझै बल पुगेको छ। यो पुरस्कार केवल मेरा लागि मात्र होइन, भिक्टोरियामा रहेका सम्पूर्ण नेपाली समुदायका लागि ठूलो सम्मान हो ।”