27/01/2022

अष्ट्रेलिया दिवसको अवसरमा कम्युनिटी रेस्पोन्स अष्ट्रेलियाद्वारा न्याभ सम्मानित

navadmin

नेपलीज एसोसिएसन अफ भिक्टोरियाले कोभिड-१९बाट प्रभावितहरुलाई सहयोग गर्दै आएको छ। नेपाली समुदाय मात्र नभई सिंगो बहुसांस्कृतिक समुदायमा सामाजिक भावले सहयोग गरे वापत न्याभ सम्मानित भएको छ। अष्ट्रेलिया दिवसको अवसरमा आयोजित कार्यक्रममा कम्युनिटी रेस्पोन्स अष्ट्रेलियाले न्याभका अध्यक्ष राम गुरुङलाई सम्मान गरेको हो। भिक्टोरियन मल्टिकल्चरल कमिसनका उपाध्यक्ष बोय थाय र कम्युनिटी रेस्पोन्स अष्ट्रेलियाका अध्यक्ष सन्नी दुग्गलले संयुक्त रुपमा अध्यक्ष गुरुङलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो।

यसअघि भुटानी समाज अष्ट्रेलियाले पनि न्याभको कार्यको कदर गर्दै सम्मानपत्र प्रदान गरेको थियो। गत डिसेम्बर १९ मा आयोजित गाला डिनरमा संस्थाले उक्त सम्मानपत्र प्रदान गरेको हो।

न्याभले आफ्नो सामाजिक कामलाई यस वर्षको अष्ट्रेलिया दिवसमा पनि निरन्तरता दियो। रोयल वेस्टर्न क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा न्याभले सहकार्य गरेको थियो। उक्त रक्तदान कार्यक्रम न्याभ अध्यक्ष राम गुरुङ स्वयम्ले समेत रक्तदान गर्नुभयो। कार्यक्रममा न्याभका पदाधिकारी, रोयल वेस्टर्न क्लबका पदाधिकारी र सर्वसाधारणले स्वस्फुर्त रुपमा रक्तदान गर्नुभएको थियो।

त्यसैगरी, न्याभले अष्ट्रेलिया दिवसकै अवसरमा बालबालिकाहरुका लागि वक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरेको थियो। विभिन्न उमेर समूहमा गरिएको वक्तृत्वकलामा बालबालिकाहरुले अष्ट्रेलियाको इतिहास र अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायको स्थानका बारेमा आफ्ना बुझाईहरु प्रस्तुत गरेका थिए। बालबालिकालाई अष्ट्रेलियाको इतिहासको जानकारी, नेपाली समुदायको स्थान र समुदायका अगुवाहरुसंग अन्तरक्रिया गराउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा ३२ जना बालबालिकाहरु सहभागी भएका थिए। जसमा मेलबर्नभरि छरिएर रहेका सम्पूर्ण आठ नेपाली पाठशालालाई एक ठाउँमा राखेर बृहत बक्तृत्वकला कार्यक्रम सम्पन्न गर्न न्याभ सफल भएको छ । कार्यक्रममा न्याभले सम्पूर्ण शिक्षक, संयोजकहरु र निर्णायक मण्डललाई मायाको चिनो मार्फत सम्मान प्रदान गरेको थियो भने वक्तृत्वकलाका सहभागी बालबालिकालाई डिजिटल प्रमाणपत्रको व्यवस्था गरेको थियो।

वक्तृत्वकलाको निर्णायक मण्डलमा डा. अनुपम पोखरेल, निरु सापकोटा र निरु त्रिपाठी रहनुभएको थियो ।कार्यक्रमको सहजकर्ता न्याभका कोषाध्यक्ष डा. यकिन्द्र तिमिल्सिना रहनुभएको थियो भने कार्यक्रमको संयोजन प्रकाश रेग्मीले गर्नुभएको थियो । त्यसैगरी, कार्यक्रमको संचालन न्याभकी भूतपूर्व सचिव तथा सामाजिक अभियन्ता प्रेरणा मल्लले गर्नुभएको थियो। जुम मार्फत सम्पन्न उक्त कार्यक्रमलाई न्याभको फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो। साथै कार्यक्रमको बिचमा बच्चाहरूलाई क्वीजद्वारा पनि मनोरञ्जन गराईएको थियो । यो क्वीजको प्रायोजन निर्णायक मण्डलकी निरू सापकोटाले गर्नुभएको थियो।

न्याभले वक्तृत्वकला कार्यक्रम प्रत्यक्ष रुपमा गर्ने योजना बनाएको थियो। तर हाल कोभिडका कारण निम्तिएको असहज परिस्थितिका कारण भर्चुअल रुपमा कार्यक्रम सम्पन्न गरिएको हो। अष्ट्रेलिया दिवस विशेष कार्यक्रमलाई भिक्टोरिया राज्य सरकारबाट सहयोग प्रदान भएको थियो ।