11/03/2022

न्याभको रजत जयन्तीको अवसरमा एएनएमसी प्राङ्गणमा पिपल रोप्ने कार्य सम्पन्न

navadmin

नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) रजत जयन्ती मनाउने तयारीमा जुटेको छ। रजत जयन्तिलाई विशेष बनाउन न्याभले विभिन्न सामुदायिक कार्यलाई समेत तीव्रता दिइरहेको छ। यसैक्रममा न्याभले नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी) निर्माणका लागि खरिद गरिएको जग्गामा पिपल रोप्ने कार्य सम्पन्न गरेको छ।

एएनएमसी कार्यसमिति, सामुदायिक अगुवा लगायतको सहभागितामा न्याभका अध्यक्ष राम गुरुङले एएनएमसीको प्राङ्गणमा पर्ने गरी पिपल रोप्नुभएको छ। नेपाली मन्दिर तथा गुम्बा सहितको निर्माण योजनामा रहेको एएनएमसीलाई नेपालीपनको झल्को दिन तथा पिपलको रुखलाई धार्मिक, सांस्कृतिक तथा वातावरणीय दृष्टिकोणले उत्कृष्ट मानिने हुँदा न्याभले पिपलको रुख रोप्ने निर्णय गरेको थियो।

बौद्ध ट्री पनि भनिने पिपलको रुख अष्ट्रेलियामा भने नगण्य रुपमा पाइन्छ। एएनएमसीको प्राङ्गणमा रोपिएको उक्त पिपल बोटको बिरुवा न्याभका भूपू अध्यक्ष डा दीपक पन्तले उपलब्ध गराउनुभएको हो।

रोपिएको पिपल बोटलाई नेपाली चौताराको मोडलमा संरक्षण गर्ने तथा सिंगार्ने योजना रहेको छ। उक्त जग्गा हाल भाडामा रहेको र अष्ट्रेलियाको कानुन अनुसार, भाडामा दिइएको जग्गाभित्र गएर काम गर्न मनाही गरिएकोले तत्कालका लागि बिरुवा मात्र रोपिएको हो।

अष्ट्रेलियाको भिक्टोरीया राज्यमा बस्ने नेपालीहरुको नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि एएनएमसीले मेलवर्नको उत्तर पश्चिमी क्षेत्र डिगर्स रेस्ट भन्ने ठाऊँमा १५ एकड (करिब ६०,७०० बर्ग मिटर वा १२० रोपनी बराबर) जग्गा लिएको छ।