१७औं ग्रेस न्याभ टुर्नामेन्ट सुरु
गत आइतबार अर्थात् २६ जनवरी देखि १७औं न्याभ टुर्नामेन्ट सुरु भएको छ। न्याभले यसपालीको टुर्नामेन्टबाट भिक्टोरियामा निर्माण योजनामा रहेको नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी) लाई सहयोग गर्ने भएको छ। भिक्टोरियामा स्वयम्भु र पशुपति मन्दिर सहितको नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि योजना अगाडी बढेको छ। निर्माणका लागि जग्गा समेत किनिसकिएको उक्त बहुसांस्कृतिक केन्द्रका लागि टुर्नामेन्टद्वारा समेत सहयोग गरिने भएको हो।
उक्त सहयोगको उद्देश्य अनुरुप न्याभ टुर्नामेन्टको उद्घाटन पनि नेपाली हिन्दु परम्परा तथा संस्कृति अनुसार गरिएको छ। विधिवत पूजा गर्दै नरिवल फोरेर पण्डित नारायण प्रसाद ज्ञवालीले टुर्नामेन्ट उद्घाटन गर्नुभएको थियो।
एएनएमसी अध्यक्ष राजेश आचार्यले खेल मार्फत नेपाली समुदायलाई अगाडी बढाइरहेको न्याभ टुर्नामेन्टले समुदायका लागि थप जिम्मेवारी बहन गर्दै सहयोगको निर्णय गरेकोमा खुसी व्यक्त गर्नुभयो। हिमालयन कंगारुसंगको कुराकानीमा आचार्यले भन्नुभयो, “न्याभ टुर्नामेन्ट आयोजक टिमको यो काम अनुकरणीय छ। सम्पूर्ण टिम र विशेष गरी न्याभ टुर्नामेन्ट संयोजक प्रेम राज उप्रेतीजी प्रति हामी आभारी छौं “।
न्याभ उपाध्यक्ष तथा टुर्नामेन्ट संयोजक प्रेम राज उप्रेतीले नेपाली बहुसांस्कृतिक केन्द्र सबैको साझा सम्पत्ति हुने भएकोले यसको उद्देश्य प्राप्तिका लागि सबैले आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुपर्ने बताउनुभयो। उहाँले सोही जिम्मेवारी बोध गर्दै टुर्नामेन्ट आयोजक समितिले पनि सहयोगको निर्णय गरेको उल्लेख गर्नुभयो।
टुर्नामेन्टको पहिलो दिन एएनएमसी अध्यक्ष राजेश आचार्य र १७औं न्याभ टुर्नामेन्टको मूख्य प्रायोजक संस्था ग्रेस इन्टरनेशनलका डाइरेक्टर राम चन्द्र पौडेलले ब्याटिंग र बलिङ्ग गर्दै टुर्नामेन्ट उद्घाटन गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा एनआरएनए भिक्टोरियाका प्रतिनिधि तथा एनसीसी सदस्य महादेव धानुक, न्याभका पूर्व अध्यक्ष डा.अनुपम पोखरेल, एएनएमसीका सहसचिव गणेश अधिकारी लगायत व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा न्याभ उपाध्यक्ष तथा टुर्नामेन्ट संयोजक प्रेम राज उप्रेती र न्याभका कोषाध्यक्ष डा.यकिन्द्र तिमिल्सिनाले टुर्नामेन्ट र संगै अष्ट्रेलिया डेको अवसरमा न्याभको आगामी कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो।
टुर्नामेन्टको पहिलो दिनको पहिलो खेल माभेन र ग्लोबल इन्टरफेस क्रिकेट क्लबबीच भएको थियो। टस जितेर ब्याटिंग रोजेको माभेनले ९५ रन बनाउन सफल भयो। जसमा मनिषले ४० रनको योगदान गरे। जवाफी ब्याटिंग गरेको गोल्बल इन्टरफेसले अन्तिम ओभरमा खेल आफ्नो पक्षमा पार्यो। जसका लागि अविनाश पौडेलले २५ र सरोज क्षेत्रीले २६ रनको योगदान गरे। माभेनका लागि निसंकेतले ३ र उत्सवले ४ विकेट लिएका थिए। निसंकेत म्यान अफ द म्याच घोषित भए।
रोयल राइनोज र एक्स्पर्ट सगरमाथाबीच भएको दोस्रो खेलमा एक्स्पर्ट सगरमाथाले दिएको १४२ रनको लक्ष्य पछ्याउदै रोयल राइनोजले अन्तिम ओभरमा खेल आफ्नो पक्षमा पार्यो। एक्स्पर्ट सगरमाथाका लागि आशिष जिसीले ६४ बनाए भने राज २८ रन बनाउंदै नट आउट रहे। त्यसैगरी, कुदुस र युत्सवले २/२ विकेट लिन सफल रहे। रोयल राइनोजका लागि चाँदले २७ र विक्रमले ३६ रन बनाएका थिए। खेलको म्यान अफ द म्याचको अवार्ड रोयल राइनोजका युत्सवले प्राप्त गरे।
तेस्रो खेल नर्रे किंग्स र हिमालयन क्रिकेट क्लबबीच भएको थियो। जसमा टस जितेको हिमालयनले १४४ रन बनाउन सफल भयो। जसमा दिपर्सनले ४७ र निशान्तले २५ रन बनाएका थिए भने किशान र सन्दीपले नर्रे किंग्सको १/१ विकेट लिएका थिए। जवाफमा नर्रे किंग्सले १ सय ६ रन मात्र बनाउन सक्यो। नर्रे किंग्सका लागि किरण र रोशनले क्रमश: ३३ र ३० रन बनाएका थिए भने आलोकले ४ र सुमनले ३ विकेट लिएका थिए। हिमालयन क्रिकेट क्लबले ३८ रनले जितेको उक्त खेलमा हिमालयनकै दिपर्शन म्यान अफ द म्याच बने।
पहिलो दिनको अन्तिम तथा चौथो खेल गोर्खाली क्रिकेट क्लब र एभरेष्ट लायन क्रिकेट क्लबबीच भएको थियो। टस जितेर ब्याटिंग रोजेको एभरेष्ट लायनले ७८ रनको लक्ष्य प्रस्तुत गर्यो, जसमा सुनिलले २० रनको योगदान गरे भने अतिश र प्रमोदले ३/३ विकेट लिए। जवाफी ब्याटिंग गरेको गोर्खाली क्रिकेट क्लबले ५ विकेटले खेल जितेको थियो। जसमा सुनिलले २५ रनको योगदान गरे। खेलको म्यान अफ द म्याच एभरेष्ट लायनका प्रमोद घोषित भए।