वक्तृत्वकला प्रतियोगिताको नतिजा प्रकाशित
नेपलीज एसोसिएसन अफ भिक्टोरियाले गत २६ जनवरीमा अष्ट्रेलिया दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको थियो। विभिन्न उमेर समूहका बालबालिकाबीच सम्पन्न उक्त प्रतियोगिताको नतिजा प्रकाशन गरिएको छ।
छ वर्षदेखि नौं वर्षसम्म उमेर समूहमा सजल पाण्डे प्रथम, आरभ उपाध्याय द्वितीय र आस्था पौडेलले तृतीय स्थान प्राप्त गर्नुभएको छ। दशदेखि बाह्र वर्ष उमेर समूहमा प्रनिश पन्थ प्रथम, सुरेजा श्रेष्ठ द्वितीय र गृष्मा रायमाझी तृतीय हुनुभएको छ। त्यसैगरी, तेह्र वर्षदेखि सोह्र वर्ष उमेर समूहमा रुचि अर्याल प्रथम, निद्धान्त गुरुङ द्वितीय र गरिमा काफ्लेले तृतीय स्थान ओगट्न सफल हुनुभएको छ।
वक्तृत्वकलामा बालबालिकाहरुले अष्ट्रेलियाको इतिहास र अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायको स्थानका बारेमा आफ्ना बुझाईहरु प्रस्तुत गरेका थिए। बालबालिकालाई अष्ट्रेलियाको इतिहासको जानकारी, नेपाली समुदायको स्थान र समुदायका अगुवाहरुसंग अन्तरक्रिया गराउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा ३२ जना बालबालिकाहरु सहभागी भएका थिए। जसमा मेलबर्नभरि छरिएर रहेका सम्पूर्ण आठ नेपाली पाठशालालाई एक ठाउँमा राखेर बृहत बक्तृत्वकला कार्यक्रम सम्पन्न गर्न न्याभ सफल भएको छ । कार्यक्रममा न्याभले सम्पूर्ण शिक्षक, संयोजकहरु र निर्णायक मण्डललाई मायाको चिनो मार्फत सम्मान प्रदान गरेको थियो भने वक्तृत्वकलाका सहभागी बालबालिकालाई डिजिटल प्रमाणपत्रको व्यवस्था गरेको थियो।
वक्तृत्वकलाको निर्णायक मण्डलमा डा. अनुपम पोखरेल, निरु सापकोटा र निरु त्रिपाठी रहनुभएको थियो ।कार्यक्रमको सहजकर्ता न्याभका कोषाध्यक्ष डा. यकिन्द्र तिमिल्सिना रहनुभएको थियो भने कार्यक्रमको संयोजन प्रकाश रेग्मीले गर्नुभएको थियो । त्यसैगरी, कार्यक्रमको संचालन न्याभकी भूतपूर्व सचिव तथा सामाजिक अभियन्ता प्रेरणा मल्लले गर्नुभएको थियो। जुम मार्फत सम्पन्न उक्त कार्यक्रमलाई न्याभको फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो। साथै कार्यक्रमको बिचमा बच्चाहरूलाई क्वीजद्वारा पनि मनोरञ्जन गराईएको थियो । यो क्वीजको प्रायोजन निर्णायक मण्डलकी निरू सापकोटाले गर्नुभएको थियो।
न्याभले वक्तृत्वकला कार्यक्रम प्रत्यक्ष रुपमा गर्ने योजना बनाएको थियो। तर हाल कोभिडका कारण निम्तिएको असहज परिस्थितिका कारण भर्चुअल रुपमा कार्यक्रम सम्पन्न गरिएको हो। अष्ट्रेलिया दिवस विशेष कार्यक्रमलाई भिक्टोरिया राज्य सरकारबाट सहयोग प्रदान भएको थियो ।